Pages

Wednesday, April 13, 2011

मानव अधिकारमा आधारित विकासको अवधारणा सम्बन्धी तालिम सम्पन्न

गढी, चैत्र÷जीवन दर्शन युवा क्लब गढीको आयोजनामा गढी ८ ज्वाला देवी निमाविमा दुई दिने मानव अधिकारमा आधारित विकासको अवधारणा सम्बन्धी तालिम सम्पन्न आज सम्पन्न भएको छ ।

प्लान नेपाल मकवानपुरको सहयोगमा भएको सो तालिममा आवश्यकतामा आधारित विकासको अवधारणा, बाल केन्द्रित सामुदायिक विकासको अवधारणा, मानव अधिकारमा आधारित विकासको अवधारणा, समुदायको जिम्मेवारी, बाल अधिकार तथा बाल अधिकार संरक्षणमा समुदायको पहल विषयमा प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकरबहादुर सार्कीले सहजीकरण गर्नु भएको थियो ।

जीवन दर्शन युवा क्लबका अध्यक्ष राजवीर मोक्तानको सभाध्यक्षता र प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकर वियसको प्रमुख आतिथ्यतामा भएको तालिमको समापन कार्यक्रममा ज्वालादेवी बालक्लबका अध्यक्ष सुवास लम्साल, अभिभावक हरिशरण पुडासैनी, शिक्षिका सुभद्रा लामिछाने, ज्वाला देवी निमाविका प्रअ शिव प्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कठायत, स्वयम्सेविका जानुका ठकुरीलगायतले मन्तव्य राख्नु भएको थियो ।

सुुँगुरको महिमा भित्र हराउँदा



समिक्षा

 मकर वियस

जब जब देशमा सुुँगुरहरुले आफ्नो उपस्थिति मजबुत बनाउँदै गए, तब तब देखी देशमा विकृति र विपत्ति थपिदै गयो र डा. गणेशकुमार पौडेललाई यो महाकाव्य –व्यङ्ग्यकाव्य) लेख्न प्रोत्साहन मिलेको हुनु पर्छ । डा. पौडेलको १६ औं कृतिका रुपमा पाठकसामु आएको यो काव्यले काव्य सिर्जना गर्न चाहने नयाँ साहित्यानुरागीलाई समेत पथप्रदर्शन गर्ने छ । रामेछाप जिल्लामा जन्मनुभएका डा. पौडेल हाल हेटौंडामा स्थायी बसोबास गर्छन् र दिनरात नभनी साहित्यमा मलजल गर्छन् ।

व्यङ्ग्य र स्वास्थ्य क्षेत्रमा डा. पौडेलका प्रशस्त कृतिहरु प्रकाशित छन् । जनमत प्रकाशनले बजारमा ल्याएको यो महाकाव्यले मौफसलका स्रष्टाहरुलाई लेख्न र लेखिरहन समेत प्रोत्साहन गर्ने मलाई लागेको छ ।

अब भने म पनि कृतिभित्र उदिन्ने तरखरमा छु । उदिन्ने काम त्यति सजिलो नभए पनि सुुँगुरको साहारामा डा. पौडेलले हाम्रा नेताहरुको नसा–नसा उदिन्न सफल भएका छन् ।

“आफ्नो चिहान सुुँगुरले अब आफैं खन्नेछ ।

मलामी उसको कोही पनि नजाने भा’ को छ ।।

सुुँगुरहरुको अन्त्येष्टि हामीले चाँडै नै गर्नु छ ।

अनि पो बल्ल जन र देशको भलो हुनेछ ।।”

गाउँ स्वच्छ भएकोले सुुँगुरलाई फोहोरको थुप्रो भएको सहर प्रशस्त मन पर्छ । त्यो सुुँगुर फोहोर खान्छ र भुँडी भर्छ । यस्तै परिवेशमा देशमा परिवर्तन आएको डा. पौडेलले महाकाव्यमा औल्याएका छन्–

“आशैआशको दियो बल्यो जनताको छातीमा ।

नयाँ नेपाल बन्छ है भन्ने गएथ्यो मनमा ।।

भै गयो अपशोच आज हेर रमणीय भूमिमा ।

सुुँगुर जति दौडिरहेछन् सत्ताकै मोहमा ।।”

हाम्रा देशका सुुँगुरहरु कुर्सी तानातान गर्छन्, विचरा सुुँगुरका मालिक जनताहरु मुकदर्शक भएर हेरी मात्र रहन्छन् । यस्तो परिस्थितिले वर्तमान गुज्रिरहेको अवस्थामा डा. पौडेललाई चिन्ता लागेको छ र उनले भनेका छन्–

“परजिवी हिंस्रक सुुँगुरको मिलेमतोमा ।

शासनसत्ता चलाई यिनले रगत चुस्तामा ।।

यिनले हेर खुलेआम ज्यान लिन थाल्या छ ।

स्वाभिमानी नागरिकले बाँच्न नै कठिन छ ।।”

आफ्नो देशका जनता भाकभाकै बस्न बाध्य हँुदा पनि देशका सुुँगुरहरु भने कालोपट्टी आँखामा बाधेर आफ्नै पेट भर्ने कार्य गरिरहेकामा कवि यसो भन्छन् ।

“खाद्यान्नका लागि अरुको मुख ताक्नुप¥या छ ।

संयन्त्र सक्षम हुँदाहुँदै बेकम्मा बना’ छ ।।

भोकभोकै जनता बस्नलाई बाध्य पा¥या छ ।

सुुँगुरले भने काट्टो जति हसुरिरा’ को छ ।।”

नैतिकवान र सज्जनको यहाँ काम छैन, भए पनि तिनलाई पनि विरुवा उखेले झैं उखेलेर फाल्ने योजनाकारहरु धेरै छन् । शासकमा सक्षमको अभाव भएकाले सर्वसाधारण खडेरी र भोकमरीमा जीउन बाध्य छन्, यस्तै छ नयाँ नेपाल । फेरी महाकाव्यकै यी सर्गहरु समाऊः

“सज्जनको जरा काट्ने योजना बन्दछ ।

सक्षम यहाँ शासकको सधैं अभाव छ ।।

सदाचार र नैतिकता सबै बाढीमा बगेछ ।

खडेरी र मरुभूमिमा सास फेर्नुप¥या छ ।।”

महाकाव्यमा राष्ट्रघातीको पहिचान गरी तिनको अन्त्य गर्न जनता जाग्नु पर्ने उद्घोष छ । फोहोरी खेल खेल्ने, दलाली अगुवा बन्ने हरेकलाई नागरिकले दण्डको घेरामा ल्याउन आवश्यक रहेको छ । राज्यको शासन जनताले चाहेर पनि परिवर्तन नभएको स्थितिमा व्यग्र दुःख व्यक्त गरिएको देखिन्छ । हाम्रा नेता र तिनको परम्परागत राजनीतिले नयाँ नेपाल नबन्ने महाकाव्यमा डा. पौडेलले ठोकुवा गरेका छन् ।

देशको परिवर्तनको शक्ति युवा पुस्ता निराशामा जीउन विवश छ । दुव्र्यसन र झैंझगडाले आश्रय पाएको र उच्च ध्वनि प्रदुषण देशमा बढ्दै गएको विषय पनि महाकाव्यमा समेटिएको छ, असफलताबाट पाठ सिक्नु पर्ने भन्दै महाकाव्यमा भनिएको छः

“लडेर उठ्नु जीवनको परिवेश मानिन्छ ।

त्यसैले आँसुलाई हाँसोले निरन्तर जित्नु छ ।।”

पदका लागि गरिने निर्वाहमुखी राजनीतिले पद पाएपछि जनताका सबै विषय विर्सने गरेको कुरा काव्यमा उल्लेख छ । सबै तहमा पैसाको चलखेल जिउँदै भएकाले देशलाई पूर्ण न्यायमन्दिर बनाउन उभो लगाउने हो भने सरकार स्थिर चाहिने भन्दै सर्ग ७० मा कवि भन्छन्ः

“बहुमत नहुँदा पनि स्थिर सरकार चाहिन्छ ।

यसको अभ्यास अरु मुलुकबाट सिक्नुछ ।।”

सुुँगुरहरुले देशलाई केही दिन नसकेकोले तिनीहरुले स्वर्गमा समेत बास नपाउने भन्दै डा. पौडेल भन्छन्ः

“सुुँगुरको यो जम्बो हुलले देशलाई के दियो ।

मात्र देश र जनतालाई यसले कङ्गाल बनायो ।।”

अन्ततः महाकाव्यले फटाहा, फोहोरी सुुँगुरको अन्त्य गरी वराहको संरक्षण गर्न मानवसँग आग्रह गर्दछ । यस काव्यको सर्ग ९४ को यो अंशः

“वराह भई भगवान आए हित गर्न मानवको ।

सुुँगुर बनी राक्षस आयो सत्यनास गर्न पो ।।

वराहले मात्र हेर यहाँ संविधान लेख्छ नि ।

लेख्छु भन्दै सुुँगुरले त उद्दण्ड गर्छ नि ।।”

महाकाव्यमा नेताहरुलाई सुुँगुरको कोटीमा राखेर व्यङ्गवाण प्रहार गरिएको छ तर यस्ता वाण पनि सजिलै पचाई रहेका छन्, नेताहरु । यस काव्यको दह्रो पक्ष भनेकै देशको विद्यमान सबै जसो समस्याहरु उजागर गरेको देखिन्छ भने कमजोर पक्षको रुपमा सुुँगुरका सम्पूर्ण नकारात्मक पक्षको मात्र वर्णन गरिएको छ । सुुँगुरका केही सकारात्मक पक्ष पनि छन्, जसलाई हामीले त्यति सजिलै भुल्न सक्दैनौं ।

काव्यले विषयमा विविध विषय र प्रमुख विषयमा सुुँगुरको जीवन, व्यवहार र त्यसका असरहरुको चर्चा गरेको छ । काव्यमा कथा प्रधान भएको देखिदैन, तर पनि यसमा प्रशस्त सुत्रकथाका अंशहरुलाई अंगिकार गरेको पाइन्छ । सरल व्यङ्ग्य, कृतिको अर्को पक्ष हो । व्यङ्ग्यमा वाण चिप्लिएर कृति कहीं–कहीं विचलित हुँदा पाठकलाई विषय र काव्यको अध्ययन गर्न नमिठो लाग्न सक्छ तर देशको परिवेशको हुबहु चित्रण गरिएको हुँदा कविभित्र सत्यताको ज्वारभाटा जेजस्तो छ, त्यस्तै कृतिमा प्रतिबिम्बित भएको पाउँदा पाठकमा खुशी छाउँछ ।

समग्रमा यस काव्यले खराब आचरणका नेताहरुलाई सुुँगुरको जुनीबाट बराह हुन प्रेरित गरेको छ । बराह नबनेसम्म हाम्रो देशले सच्चा नेता नपाउने र जनताले न्याय र सुशासन प्राप्त गर्न नसक्ने ठोकुवा गरिएको छ । तसर्थ यो कृति हाम्रा नेताले एक पल्ट पढुन् र उनीहरुले बराह बन्ने काम गरुन् । त्यसो भएमा डा. पौडेलको मेहनत त्यसै खेर जाने छैन, हामी सबैको भलो नै हुने देखिन्छ । (समिक्षक प्लान नेपाल मकवानपुर गढी÷ठिंगनका विकास संयोजक हुन् । समिक्षामा उल्लेखित भावनाले संस्थाको प्रतिनिधित्व गर्दैन, यो लेखकको नीजि र व्यक्तिगत धारणा मात्र हो ।)